विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ मा आफ्नी श्रीमतीलाई शिक्षिका नियुक्ति गर्नुपर्ने भन्दै शिक्षकले नै प्रधानाध्यापकमाथि कुटपिट गरेका छन् ।
जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक इश्वर खनाललाई कुटपिट गर्ने स्थानीय सन्तोष घिमिरेलाई प्रहरीले पक्राउ गरिसकेको छ। कुटपिट गर्ने घिमिरे ९ नम्बरमै रहेको रत्नडिक आधारभूत विद्यालयका शिक्षक हुन् ।
खनालमाथि गत २४ गते नेपाली काङ्ग्रेसको ९ नम्बर वडा पार्टी कार्यालयमा कुटपिट भएको हो । केही दिन अघि देखिनै घिमिरेले पटक पटक फोन गरेर तँलाई म को हुँ देखाइदिन्छु भन्दै धम्कि दिइरहेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख छ ।
रतुवामाई ९ का वडा अध्यक्ष र जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौधमान थापाले शिक्षक नियुक्तिका सम्बन्धमा छलफल गर्न नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा बोलाएपछि खनाल त्यहाँ पुगेका थिए । हामी तीन जना बाहेक अरु कोही हुँदैनन् भनेर त्यहाँ लगिएको र त्यहाँ पुग्दा सन्तोष घिमिरेसहित अन्य धेरैको उपस्थिति रहेको पीडितले दिएको किटानीमा उल्लेख छ ।
आफ्नो श्रीमतिलाई शिक्षक नियुक्ति नदिएकै भरमा प्रअमाथि कुटपिट गर्नु निन्दनिय भएको शिक्षक संगठनका अध्यक्ष भरत कार्कीले बताए । बिना गल्ति प्रअमाथि कुटपिट भएकोमा आपत्ति जनाउँदै उनले दोषी उपर कडा कारबाहीको माग गरे ।
यसरी पार्टी कार्यालयमा बोलाएर एक जना जिम्मेवार प्रअमाथि कुटपिट हुँदा हामी तमाम शिक्षकहरुमा वितृष्णा छाएको एक शिक्षकले बताए । उनले वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत त्यहाँ रहेकाले घटनाको जवाफदेहीता उनीहरु पनि भएको उनले बताए ।