Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

टोलटोलमा सहकारी घरघरमा रोजगारी अभियान



विराटनगर । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकता राखेको बताइएको छ । जसका लागि सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसमसम्बन्धीत नियमित सूचना दिने व्यवस्था गर्ने, किसान परिचयपत्रलाई अनिवार्य गर्दै लाने, स्थानीय तह, कृषि सहकारी र नीजि क्षेत्रको सहकार्यमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने लगायत उल्लेख छ ।

प्रदेश सरकारले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धीत सेवालाई अनलाइनमार्फत गर्ने घोषणा पनि गरेको छ । ठूला आयोजनालाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न वृहत लगानी सम्मेलन प्रदेशमै गर्ने, अन्तराष्ट्रिस्तरका सभासम्मेलन आयोजना गर्नका लागि औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि एक गाउँ एक उद्यमी कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी सिमेन्ट निर्यातका लागि सम्भाव्यता अध्ययन गरिने र घरेलु मदिरा ब्राण्डिङ गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेशले भूउपयोग नीति ल्याएर कार्यान्वयन गर्ने, सहकारी शिक्षा नेतृत्व विकास, व्यवसायीक योजना र उद्यामशिलता विकासका तालिम संचालन गर्ने तथा टोलटोलमा सहकारी घरघरमा रोजगारी अभियान चलाउने पनि कार्यक्रममा उल्लेख छ । यस्तै सहकारीमार्फत सामूहिक खेती संचालन गर्न अनुदान उपलब्ध गराउने सरकारको लक्ष्य छ ।

पर्यटनको क्षेत्रमा पनि सरकारले सानादेखि ठूला कार्यक्रम घोषणा गर्ने जनाएको छ । पर्यटनलाई प्रबद्र्धनका लागि भ्रमण प्याकेज योजना कार्यान्वयनमा ल्याइने, पर्यापर्यटनमा आधारित पर्यटन क्षेत्रको विकास गर्ने, पदमार्गमा आधारित पर्यटन विकास आयोजनालाई प्राथमिकता दिने, मुन्धुम पर्यटन पदमार्ग निर्माणलाई पूर्णता दिने, किराँत संस्कृतिसँग जोडिएको सप्तकोशीको खुवालुङको संरक्षण गर्ने, विराटनगर विमानस्थलको विकास र स्तरोन्नति गर्ने, विराटनगरबाट माउन्टेन फ्लाइट, अन्तर प्रदेश उडान गर्न प्रोत्साहित गर्ने पनि सरकारको कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार