इटहरी । युथ अफ खनारको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नं। १२ खनारमा विश्व वातावरण दिवस भव्यताका साथ मनाइएको छ ।
४८ औँ विश्व वातावरण दिवसको अवसरमा आज खनार चोक आसपास क्षेत्रमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा खनारका सम्पूर्ण विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । करिब ६० जना विद्यार्थीसहितको र्याली समेत निकालिएको थियो । विद्यार्थीहरुले आज मात्र नभई सधै यो दिवस मनाउनु पर्ने र पृथ्वीलाई जोगाउनु पर्ने जस्ता स्लोगनहरु बोकेर रिलायन्स स्पिनिङ मिल्स् देखि शारदा उच्च माविसम्म र्याली निकालेका थिए । र्याली पश्चात् विद्यार्थी, शिक्षक, स्थानिय मिलेर खनार परिसर सरसफाई समेत गरेका थिए ।
कार्यक्रमलाई १२ नं वडा अध्यक्ष भुवन पोखरेलले समेत साथ दिएका थिए । उनले कार्यक्रममा बोल्दै आगामी दिनमा यस किसिमका कार्यक्रमले विद्यार्थीमा राम्रो सन्देश पुग्ने बताउँदै आयोजक युथ अफ खनारलाई धन्यवाद व्यक्त गरे । साथै उनले आगामी दिनमा यस प्रकारका कार्यक्रमका लागि बजेट समेत छुट्याउने बताए ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई आफ्नो घर आसपास क्षेत्रमा बिरुवा रोप्न भन्दै एकएक वटा बिरुवा समेत दिइएको युथ अफ खनारका संयोजक पिन्टु साहले जानकारी दिए । कार्यक्रममा उपस्थित शिक्षकहरुलाई समेत मायाको चिनो स्वरुप एकएक वटा बिरुवा वितरण गरिएको बताए । युथ अफ खनारले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । यस्तै आउँदो दिनमा पनि यस संस्थाले समाजको हितका लागि काम गर्दै अघि बढ्ने साहले बताए ।