विराटनगर,
नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बित्दा पनि अझै विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक पनि समयमा नछापेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उपमहासचिव भाष्कर खनाल बताउँछन् । उनले निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि यथासिघ्र पाठ्यपुस्तक विद्यार्थीहरुले पाउने वातावरण बनउनु पर्ने माग गरे ।
निर्वाचन र रुस युुक्रेन यु।द्धको कारण कागज आउन ढिलाई भएकोले पुस्तक छाप्न समस्या भएको जनक शिक्षा सामाग्री केन्द्रले प्रष्टिकरण दिँदै आएको छ । कक्षा १ देखि ३ सम्मको पुस्तक छाप्न निजी क्षेत्रलाई दिइएको थियो । उनीहरुले भने समयमै पाठ्यपुस्तक छापिसकेको छन् । यो शैक्षिक सत्रका लगि १ करोड ९८ लाख थान पुस्तक छाप्नु पर्नेमा अहिलेसम्म १ करोड ६३ लाख थान पुस्तक मात्रै छपाइ सम्भव भएको केन्द्रले जनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले यसपालि कक्षा ४ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षालाई छाप्न दिने निर्णय गरेका थिए । कक्षा १–३ का पुस्तक मात्रै निजी छापाखानमा छपाइ भइरहेको छ ।
हरेक वर्ष जनक शिक्षाले समयमै पाठ्यपुस्तक छाप्न नसकेको अवस्थामा जानाजान ठुलो भारि थपिदिएको कारण समयमै पाठ्य पुस्तक छाप्न नसकेको निजी क्षेत्रका छापाखान सञ्चालकहरुको भनाई छ । निजी क्षेत्रले पाठ्यपुस्तक छाप्नकै लागि राज्यले तोके अनुसारको क्षमतावृद्धि गरेपनि मन्त्रीको आदेशमा निजी क्षेत्रलाई १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छाप्ने गरि खुम्च्याउनु दुर्भाग्य भएको हंशबाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन्स विराटनगरका सञ्चालक बलराम गिरीले बताए ।
‘अहिले हाम्रो मेसिन खाली बसिरहेको छ तर विद्यार्थीहरुले पुस्तक पाएका छैनन् । निजी क्षेत्रलाई खुम्च्याउन राज्यले विद्यार्थीहरुको भविष्यमाथि नै नजर अन्दाज गरेको देखिन्छ ।’ भन्दै उनले भने -‘निजी क्षेत्रले छाप्ने जिम्मा पाएको कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकको अभाव छैन् ।’ गिरीले अहिलेपनि निजी क्षेत्रलाई पुस्तक छाप्ने जिम्मा दिए २४ घण्टाभित्र परिणाम दिन थाल्ने बताए ।
अहिलेसम्म छापिएका पाठ्यपुस्तक जेठ ९ देखि विक्रेतालाई वितरण गर्न थालिएको जनक शिक्षाले जानकारी दिएको छ । तर विक्रेताले भने पुरा सेट नभएको भन्दै पुस्तक लगेका छैनन् । सूचीकृत करिब १२ सय विक्रेताले ढुवानी रकम अग्रिम रूपमा पाउनुपर्ने माग अघि सारेका छन् ।