विराटनगर । प्रदेश १ को स्थानीय तहको निर्वाचनको मत परिणाम आउन अब एउटा मात्र पालिका बाँकी छ । उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना जारी छ । सम्भवत आइतबार बेलुका या सोमबार बिहानसम्ममा त्यहाँको नतिजा आइसक्ने छ । यो नतिजा आएसँगै चुनावी समिक्षाहरु सुरु भइसकेको छ । मुलत आज यहाँ उठाउन खोजिएको सन्दर्भ २०७४ सालको स्थानीय निर्वाचनमा प्रदेश १ मा पहिलो भएको नेकपा एमाले यो पटक किन दोश्रो भयो या कहाँ कहाँ चुक्यो एमाले भनेर विश्लेषण गर्न खोजिएको हो ।
नेकपा एमालेका स्थायी समिति सदस्यहरु सबै भन्दा बढी भएको प्रदेश भित्र पर्छ १ नम्बर प्रदेश । पार्टीका अध्यक्षदेखि उपाध्यक्ष सुवास नेम्बाङसम्मको प्रदेश हो यो । यसअर्थमा पनि यो प्रदेशमा एमाले प्रथम हुनु पथ्र्याे तर एमाले यस पटक प्रथम नहुनुका पछाडि केही कारणहरुलाई नियालेर हेर्न सकिन्छ ।
पहिलो कारण : मुलत पहिलो कारणको रुपमा एमालेविरुद्धको गठबन्धनलाई लिन सकिन्छ । यसले गर्दा नेकपा एमालेले पर्याप्त स्थानीय तहहरु जित्न सकेन् । यो आम रुपको बुझाइ हो ।
दोश्रो कारण : नेकपा एमालेको टिकट वितरण कतिपय ठाउमा उपयुक्त भएन् । यसको उदाहरण सुनसरीको धरानलाई लिन सकिन्छ । केन्द्रबाट हस्तक्षेप नभएपनि धनकुटा जिल्लाका केही पालिका, उदयपुरका केही पालिका र सुनसरी, ओखलढुंगाका पालिकाहरुमा पनि टिकट वितरण सहि ढंगले नभएको गुनासो स्थानीय नेताहरुको छ । खास गरेर जिल्लाका पार्टी पङ्तिका नेताहरुले आफू अनुकुल टिकट दिने र आम नगारिक र बौद्धिक क्षेत्रसँग कुनै छलफल नगर्दाका कारण एमालेले चुनाव हारेको देखिन्छ ।
तेश्रो कारण : भद्दा प्रदेश कमिटी । सात सय भन्दा बढीको प्रदेश कमिटी भएपनि त्यसका सदस्यहरु जिल्लामा परिचालन हुन सकेनन् । नेता त भए तर तल्लो तहमा गएर खट्ने र तिनीहरुलाई परिचालन गर्ने राम्रो संयन्त्र बन्न सकेन् । कतिपय ठाँउमा म प्रदेश कमिटी सदस्य मलाई जिल्लाको फुच्चे सदस्यले भनेर हुन्छ ? भन्ने अहंता राखेको देखियो ।
ती सदस्यलाई स्थायी समिति अथवा त्यो भन्दा माथि रहेका पदाधिकारीले पनि परिचालन गर्न सकेनन् । कतिपय स्थायी समिति सदस्य त वडामा पनि परिचालन भएनन् । जसका कारण सामान्य कार्यकर्ताहरु परिचालन हुन सकेनन् ।
चौथो कारण : आर्थिक व्यवस्थापन । चुनावमा उमेदवारहरुको आर्थिक व्यवस्थापन पार्टी कमिटी भन्दा पनि व्यक्तिगत बढी भयो । कसले कहाँ, कुन निर्णयबाट रकम खर्च गर्ने भन्ने खालको कुनै मापदण्ड बनेनन् । चुनावको आर्थिक पारदर्शीताको अभाव देखियो । नाम चलेका नेता उठेका ठाँउमा चन्दा बढी हुने र नाम नचलेका उमेदवार भएको ठाँउमा आर्थिक परिचालनको अभाव देखियो ।
पाँचौँ कारण : मिडिया परिचालन । अहिलेको समयमा मिडिया परिचालन र व्यवस्थापन महत्वपूर्ण पाटो हो । सामाजिक सञ्जालदेखि अनलाइन मिडिया परिचालन र त्यसमा पार्टीको एजेण्डा दिने कुरामा एमाले चुकेको देखियो । आम रुपमा भन्दा मिडिया परिचालनमा एमालेको कमजोर भूमिका देखियो ।
छैठौँ कारण : मन नछुने घोषणा पत्र । अहिले आम नागरिकले तत्कालै के चाही रहेका छन् । कुन मुद्धा कुन स्थानीय तहमा उठाउने भन्ने विषयमा एमाले चुकेको छ । जस्तो धरानमा स्वतन्त्र उमेदवारले खानेपानीको मुद्धा उठाएर मतदाताको मत जिते । अर्काे उदाहरण विराटनगरमा हेर्न सकिन्छ ।
लामो र भद्दा घोषणा पत्रमा विराटनगरको छेउमा रहेको सिंगिया र केसलिया खोलामा बाँध बाँधेर माछा पाल्ने योजना अघि सारियो । डुवानको समस्या भोगिरहेका विराटनगरबासीलाई यसले झनै तर्सायो । हरेक पालिकाले समयमै घोषणा पत्र र आफ्नो योजना सार्वजनिक गर्न सकेनन् । घोषणा पत्रमा समेट्नु पर्ने एजेण्डाका विषयमा स्वतन्त्र खालका नागरिकसँग सुझाब समेत लिइएन् ।
सातौँ कारण : अन्तरघात । यो प्रवृत्ति पनि डरलाग्दो रुपमा एमालेभित्र देखा परेको छ । खास गरेर उमेदवार जिताउने अभियानमा नेताहरु नलागिदिदाँ सामान्य कार्यकर्ताहरुले भोट नदिने र भित्रभित्रै असन्तुष्टि पोख्ने अवस्था देखियो । विराटनगर महानगरपालिकाको चुनावमा पनि १६, १, २, ४, ९, ११ जस्ता वडामा मेयरलाई भोट नदिने र अरु सबै सूर्यलाई दिने प्रवृत्ति देखियो । यस्ता विषयलाई एमालेले व्यवस्थापन गर्न नसकेको देखिएको छ ।