जनकपुर । लामो समयको प्रतीक्षा पश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्डमा रेल चल्ने भएको छ। कुर्था–जयनगर रेल्वे खण्डमा आइतबारदेखि नियमित रेल चल्ने भएको हो।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअल माध्यमबाट संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि शनिबार दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको थियो। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए।
प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि दुल्ही झैँ शृङ्गारिएको रेल जयनगरबाट खुलेको थियो। जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेशनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए।
रेल जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गरायो। रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेशनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएको छ।
आइतवारदेखि नियमित रेल सञ्चालन हुने
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आइतबारदेखि नियमित रेल सेवा सञ्चालन हुनेछ। दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।