Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने



विराटनगर । नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।

यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।

टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्छ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेष गरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ ।

अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ ।

टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानुअघि र दिसापिसाव गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार