Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रुसद्वारा पहिलो चरणको युद्ध सकिएको घोषणा



मस्कोरकिभ । रुसले युक्रेनविरुद्ध पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको छ । एक महिनाअघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आफ्नो ‘रणनीति परिवर्तन गर्न’ युद्ध सकिएको घोषणा गरेको ठानिएको छ । रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।

मन्त्रालयले ‘युक्रेनविरुद्धको विशेष सैन्य कारबाही’ अब पूर्वी क्षेत्रलाई मुक्त बनाउन केन्द्रित हुने घोषणा गरेको छ । ‘हामीले कारबाहीको पहिलो चरणअन्तर्गतको उद्देश्य लगभग प्राप्त गरिसकेका छौं,’ रुसी वरिष्ठ सैनिक अधिकारी सर्गेई रुद्स्कोईले भने, ‘युक्रेनी सशस्त्र फौजको युद्ध क्षमता कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न सहज हुन्छ ।’

अब रुसी सेनाले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा रुसले समर्थन गरेका पृथकतावादीहरूको बाहुल्य छ । रुद्स्कोईले रुसी फौजले युक्रेनी सेनालाई अन्य क्षेत्रमा अल्झाएर पूर्वी क्षेत्रमा केन्द्रित भइरहेको बताएका छन् ।

पछिल्लो समय रुसी फौजले भू–राजनीतिक महत्त्वको बन्दरगाह सहर मरिउपोलमा आक्रमण केन्द्रित गरेको थियो । मरिउपोलमा दसौं हजार मानिस खाना, पानी र न्यानोको अभावमा जीवन गुजार्न बाध्य भएका र उनीहरूको अवस्था खराब हुँदै गएको बताइएको छ ।

त्यस्तै, रुसी फौजले युक्रेनी राजधानी किभलाई घेराबन्दी गरेर बमबारी जारी राखेका छन् । रुसी फौजले युक्रेनका केही सहरमाथि नियन्त्रण कायम गर्न र भ्लोदिमिर जेलेन्स्की नेतृत्वको सरकार ढाल्नका लागि आक्रमण केन्द्रित गरेको बताइएको थियो । तर युक्रेनी सेनाको कडा प्रतिवादका कारण रुसले अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार