Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुदनको नौटंकी चिर्न शेरधनको विकासे ‘काउन्टर’



लेगुवा : पूर्वी पहाडी जिल्ला भोजपुरमा यतिबेला चुनावी माहोल ह्वात्तै बढेको छ । पूर्व मुख्यमन्त्री शेरधन राई र अहिलेका मुख्यमन्त्री राजेन्द्रकुमार राई दुवै जना अड्डा जमाएर चुनावी अभियानमा छन् । प्रतिनिधिसभाको निर्वाचनमा भने पूर्व मुख्यमन्त्री शेरधन राई र माओवादी केन्द्रका सुदन किराती मैदानमा छन् ।

भोजपुरका मानिसका सामाजिक सञ्जाल हेर्ने हो भने अहिले संस्थापक मुख्यमन्त्री रहेका एमालेका शेरधन राईले गरेका विकास योजनाका काम र उनको गतिविधिले भरिएको छ । त्यसो त माओवादी केन्द्रमा उम्मेदवार सुदन किराती कहिले कुर्सी बोक्दै, कहिले पीडालुको पात ओड्दै त कहिले खेतबारीमा काम गरेको देखाएर अनेकौँ नाटक प्रचार गरिरहेका छन् ।

पूवै मुख्यमन्त्रीका व्यक्तिगत जीवनसँग जोडेर गैर राजनीतिक प्रचारमा उत्रिएका गठबन्धनका उम्मेदवारलाई जब शेरधन राईले भोजपुरमा लगेका विकासका बारेमा श्वेतपत्र जारी गरे त्यसले नयाँ खाले तरङ्गमात्रै सिर्जना गरेको छैन्, सबै खाले नाटकलाई चिरेको स्थानीयको भनाइ छ ।

लेगुवामा भेटिएक भोजपुरको षडानन्द नगरपालिकाका सुजन राई भन्छन्, ‘केही दिन अघि अनेक फन्डाको प्रचार गर्ने सुदनलाई जब शेरधन राईले विकासका कुरा गरे तब विपक्षीहरु विकासको कुरा गर्न सकिरहेका छैनन् । सुदनले पनि गैरराजनीतिक विषयबाहेक विकास योयो गरे भनेर देखाउन सकेका छैनन् ।’

साँढे तीन वर्षमा ४२४ योजना र ५ अर्व भोजपुरमा भित्र्याएको विषय अहिले शेरधन राईका लागि उत्साहजनक एजेन्डा बनेको छ । डा. इन्द्रजित राईले पनि भोजपुरमै पुगेर भने, ‘शेरधनले जत्तिको अहिलेसम्म कसैले बजेट ल्याएको छैन् र अब भोजपुरको राष्ट्रिय नेता शेरधनमात्रै हुन् ।’ यस हिसाबले पनि शेरधनलाई जिताउनुपर्ने जिकिर राईले गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार