मतदातासँग भेटघाट गर्दै कार्की / तस्बीर : पूर्वेलीप्रेस
विराटनगर : नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश (१) बाट उम्मेदवार बनेका डिबी कार्कीले समाज बदल्न सामाजिक व्यक्तिको आवश्यक रहेको बताएका छन् ।
सोमबार चुनावी अभियान अन्तरगत आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै कार्कीले समाज रुपान्तरणका लागि समाजका असल व्यक्तिलाई मतदाताले प्रतिनिधित्व गराउनुपर्ने बताए ।
उनले नेकपा एमाले विकासको पक्षमा रहेको बताएका छन् । ‘नेकपा एमाले सधैँ विकासको पक्षमा छ, समृद्धिको पक्षमा छ, सुशासनको पक्षमा छ,’ कार्कीले भने, ‘यसलाई निरन्तरता दिनका लागि पुनः एमाले नेतृत्वको सरकार आवश्यक छ ।’
एमालेबाट प्रदेशसभामा उम्मेदवार बनेका कार्कीले आफ्ना प्रतिस्पर्धिलाई खुल्ला बहस गर्न चुनौतीसमेत दिएका छन् । ‘विकास र समृद्धिका पक्षमा खुल्ला बहस गर्न मेरा सबै प्रतिस्पर्धिहरुलाई चुनैती दिन चाहन्छु,’ उनले भने ।
आफ्नो निर्वाचन क्षेत्रका अधिकांश जनता कृषिमा निर्भर रहेकाले कृषिमा परिवर्तन ल्याउन आफू लागि पर्ने उनले मतदातालाई प्रतिवद्धता व्यक्त गरेका छन् । बाटो बनाउनुमात्र विकास नभएको बताउँदै कार्कीले भने, ‘बाटो निर्माण गर्नु र चिल्ला सडकले मात्र विकास पुरा हुँदैन । जनता भोको भएर विकास हुँदैन, त्यसैले जनतालाई भोको हुनबाट जोगाउनु ठुलो विकास हो । त्यसका लागि म काम गर्नेछु ।’
कार्कीले निर्वाचन क्षेत्रको विकास र जनताका समस्यामा सधैँ आफ्नो साथ रहने बताए । उनले आफ्नो उम्मेदवारी एमाले पार्टीको मात्र नभएर सिंगो क्षेत्र नम्बर २ बासीको भएको बताएका छन् ।