Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले विराटनगर महानगरको प्रतिबद्धतापत्र सार्वजनिक



विराटनगर । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ ।

बैशाख ३० गते हुने निर्वाचन कालागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । बुधबार एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईञ्चार्ज देवराज घिमिरेले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

१४ पृष्ठ लामो प्रतिबद्धतापत्रमा एमालेले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास, सामाजिक विकासलाई निकै जोड दिएको छ । यस्तै वातावरण संरक्षण र पार्क, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन सहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्ध, र विविध पक्षलाई प्रतिबद्धतामा समेटिएको छ । एमालेले प्रतिबद्धता पत्रमा हाम्रा जनप्रतिनिधि शासक नभई जनताको सेवक हुन् उनीहरुले सामाजिक जागरण र विकासका अभियान्ताका रुपमा काम गर्नेछन् भन्ने उल्लेख गरेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज देवराज घिमिरेले सम्पूर्ण महानगरबासीलाई समृद्ध विराटनगर र सुखी नेपाली बनाउने र बन्ने अभियानमा सरिक हुन आग्रह गर्नुभयो । एमालेबाट महानगरको मेयरको उम्मेदवार समेत रहनुभएका एमाले महानगर कमिटीका अध्यक्ष सागरथापाले कार्यक्रमको अध्यक्षता गर्दै विराटनगरको विकास गर्नकै लागि आफु उम्मेदवार भएको र जनताको सेवकको रुपमा काम गर्ने बताउनुभयो । उपमेयरको ेउम्मेदवार तथा नेकपा एमाले महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीले नेकपा एमालेले चुनाव जित्छ, महानगरको विकास तिब्रतर गर्छ भन्ने बुझेकाहरुले आत्तिएर आफुमाथि उजुरी दिएको बताउनुभयो । उहाँले यसअघि नै सम्बन्धित निकायमा राजिनामा दिइसकेको र आफुसँग प्रमाण रहेको भन्दै निसन्देह एमालेको चुनावी प्रचारमा जुट्न आग्रह गर्नुभयो । कोसी अस्पतालको समितिमा रहँदा आफुले कुनै सुविधा भोग नगरेको दाबी गर्दै उहाँले महानगरको उपमेयरमा निर्वाचिज भएपछि पनि सेवाभावका राथ काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘म कमाउन राजनितीमा आएको हैन, एमालेले मलाई जनताको सेवा गर्न उम्मेदवार बनाएको मैले राम्रो बुझेको छु ।’

प्रतिबद्धतापत्रमा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरण मैत्री स्मार्ट सिटी बनाउने देखि प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकार र प्रदेशसभाका लागि स्थायी संरचना निर्माणमा आवश्यक पहल तथा सहजिकरण गर्ने सम्म उल्लेख गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्षले विराटनगर महानगरपालिकाको १९ वटै वडाको वडा अध्यक्ष तथा वडा सदस्यको उम्मेदवारहरूको परिचय गराउनु भएको छ । कार्यक्रममा नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ ईन्चाज देवराज घिमिरेले महानगर पालिकाको प्रतिवद्दता पत्र सार्वजनिक गर्दै महानगरको चुनावको लागि २ हजार १ सय ११ सदस्य निर्वाचन परिचालन कमिटी घोषणा गर्नु भएको छ ।

महानगरको निर्वाचन परिचालन कमिटीको संयोजकमा एमालेको पोलिटव्युरो सदस्य तथा मोरङ ईन्चार्ज विनोद ढकाल रहनुभएको छ भने विराटनगर महानगरपालिकाका रह्नु भएको पार्टीको केन्द्रिय कमिटी सदस्य , प्रदेश कमिटी सदस्य , केन्द्रिय सल्लाकार कमिटी सदस्य , मोरङ जिल्ला कमिटी पदाधिकारी तथा सदस्य , महानगर कमिटी सदस्य र १९ वटा वडा कमिटी तथा कमिटीको मातहातमा रहेको टोल कमिटी सदस्यहरू परिचालन कमिटीको सदस्यमा रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार