Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ४ : बढदै छ ढकालप्रति जनलहर



विराटनगर : मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहौल अझ बढ्दै गएको छ ।

अहिले चिया पसल, चौतारा र होटलमा बसेर राजनीतिकै गफ हुने गरेको छ । जहाँ २, ४ मान्छे भेला हुन्छन्, त्यहि सुरु हुन्छ चुनाव कस्ले जित्छ र हार्छ भन्ने बहस । मोरङ क्षेत्र नम्बर ४ को स्थलगत रिपोर्टिङ गर्दा भने प्रमुख दुई उम्मेदवारबिच प्रतिष्पर्धा हुने देखिएको छ । जहाँ सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका अमनलाल मोदी र नेकपा एमालेका विनोद ढकालबिच नै प्रतिष्पर्धा देखिएको हो ।

मोदी गठबन्धनको उम्मेदवार भइरहँदा ढकाललाई जसपा र राप्रपा लगायतसँगको तालमेलले सघाउ पुग्ने देखिएको छ । मोदी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका थिए भने ढकाल पहिलो पटक यो निर्वाचन क्षेत्रबाट जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्य बन्न चाहन्छन् । यहि सन्दर्भमा निर्वाचन क्षेत्रका आम जनता भने नयाँ अनुहारका रुपमा आएका ढकालप्रति बढी भरोसा राखेको पाइएको छ ।

केन्द्रीय राजनीतिमा सोझो पहुँच राख्ने नेताको रुपमा छवी बनाएका ढकालको उम्मेदवारीले आफ्नो क्षेत्रको तिव्रतर विकास हुने आम जनताको विश्वास रहेको पाइएको हो । बिहिबार ग्रामथानको १, २, ४, कटहरीको ५, ६ र ७ हुँदै विराटनगर १९ का जनतासँग चुनावी माहौल कस्तो छ भन्ने जिज्ञासा राख्दा यस्तो पाइएको हो । तर पार्टीप्रति आस्था राख्नेहरु भने आ–आफ्नो उम्मेदवारको विजय सुनिश्चित रहेको दावी गर्छन् । आफ्नो राजनीतिक दलको उम्मेदवार नहुनेहरु भने व्यक्ति छानेर मत दिने तर्क गर्छन् ।

अघिल्लो पटक नेकपा एमालेसँगको गठबन्धनबाट विजय भएका मोदीलाई हेरिसकेका जनताले भने अब उनलाई दोहोर्याउनु भन्दा योग्य उम्मेदवार भेट्दा नयाँलाई अवसर दिने मनसायमा छन् । पटकपटक एउटै व्यक्तिलाई जिताउँदा भन्दा फेरबदल भए क्षेत्रको विकास हुने तर्क कटहरीका भजनलाल दासको छ । उनले भने,‘जनता बुझ्ने भइसके, राम्रो व्यक्तिलाई नै जिताउँछन् ।’

ग्रामथानमा सैलुन चलाउँदै आएका विनोद ठाकुरले आफू कुनै पार्टीमा आवद्ध नरहेको भन्दै जनताको काम गर्ने नेतालाई भोट दिने बताए । उनले चुनावी माहौलका सन्दर्भमा भने प्रतिनिधिसभामा ढकालकै चर्चा बढी भइरहेको बताए । यस्तै मोतिपुर चोकको चियापसलमा भेटिएका शिवनारायण माझिले जनताको मत ‘टेस्टेडलाई भन्दा फ्रेसलाई’ जिताउनुपर्छ भन्ने रहेको तर्क गरे । यसअघि मोदीलाई जिताएर उनमाथि जनताले न्याय गरेको तर, उनले अपेक्षाकृत काम गर्न नसकेको उनको भनाई थियो ।

ग्रामथान– ४ स्थित लोहन्द्रा खोला किनारमा भेटिनुभएका बलराम माझीले पनि प्रतिनिधिसभामा ढकाल र मोदीको चर्चा भएपनि जनलहर ढकालप्रति बढ्दै गएको बताए । ग्रामथान र कटहरीको संगमस्थलमा साइकलयात्रा गरिरहेका श्यामनारायण चौधरीले चुनावी माहौल तिहारपछि मात्रै देखिने बताए । स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा २३ वडा मध्ये १८ वटा वडामा नेकपा एमालेले जित्न सफल भएको यस क्षेत्रमा विभिन्न कारणले आफुहरुले चुनाव जित्ने एमालेका उम्मेदवार विनोद ढकालको विश्वास छ ।

भोजपुरबाट मोरङकै सोहि क्षेत्रमा लामो समय बसेर विराटनगर आएका ढकालले मोरङका सबै क्षेत्रको विषयमा आफु जानकार रहेको अझ क्षेत्र नम्बर ४ लाई नजिकबाट बुझेको बताए । उनी यस क्षेत्रका जनताको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताउँछन् । यस क्षेत्रका जनताले पनि आफूमाथि निकै आशा र भरोसा राखेको भन्दै त्यो भरोसा टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्दै ढकालले त्यस क्षेत्रमा थारु, आदिबासी, सिमान्तकृत समुदायलगायतका जातजातीको संस्कृतिको जगेर्ना गर्न संग्राहलय निर्माण गर्ने घोषणा समेत गरेका छन् । त्यसो त माओवादी केन्द्रका अमनलाल मोदी पनि गठबन्धनका सबै दल मिलेर भोट दिँदा आफुले जित्ने विश्वासमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार