विराटनगर : विराटनगरमा रहेर झन्डै साढे तीन वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्री भएका हिक्मत कार्की अरु मन्त्रीहरुभन्दा मिजासिला र सरलरुपमा प्रस्तुत हुन्थे । उनको यही प्रस्तुतिले प्रतिपक्ष र सत्तापक्ष खुसी हुन्थे । प्रदेशमा आउने बित्तिकै उनले गरेका कतिपय कामले अहिले प्रदेश सरकारको स्वरुपलाई जनतामाझ चिनाउने अवसर पनि पाएको छ ।
लामोसमयसम्म विद्यार्थी राजनीति गरेर अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा लागेका कार्की एमालेभित्र अवसर नपाएका नेताका रुपमा परिचित थिए । तर, पछिल्लो जब उनले अवसर पाए त्यसले उनी अब्बल हुने स्थितिसमेत सिर्जना गरे । जसको फलस्वरुप उनी नेकपा एमालेको स्थायी कमिटी सदस्यका रुपमा समेत उदाए । प्रदेशमा रहँदा उनले जनताको सुरक्षामा देखाएको तत्परता नै उनको अहिले चुनावको एउटा मुख्य एजेन्डा बनेको छ ।
जीर्ण रहेका झन्डै ५१ वटा प्रहरी कार्यालय, १४ वटा बिओपी, महिला प्रहरीका लागि ड्रेस चेन्ज रुम बनाएर उनले प्रदेशमा प्रहरीलाई मोटिभेट मात्र गरेनन् त्यसले सुरक्षामा आमूल परिवर्तन ल्यायो । जनताले सुरक्षाका अनुभूति गर्न पाए ।
उनले प्रहरीलाई बलियो बनाएकै कारण अहिले प्रदेशमा प्रदेश सरकारले देखाउने ठाउँ नै प्रहरी भवनहरु भएका छन् । यो उनको जनताको सुरक्षाप्रतिको उत्तरदायीत्व थियो । प्रदेशमाथि अनेकौँ प्रहार भइरहँदा प्रदेशलाई बलियो बनाउने गरी अनेकौँ कानुन उनले निर्माण गरे । जसको जगमा अहिले प्रदेश अघि बढिरहेको छ । अन्य प्रदेशको तुलनामा प्रदेश १ कानुन बनाउने कुरामा अब्बल देखियो । प्रदेश चाहिँदैन भन्ने नारा बोक्नेहरुका लागि उनले काम गरेर चुनौती दिए । मुख्यमनत्री अत्यावश्यक सेवा केन्द्र हरेक जिल्लामा खोल्ने उनको निर्णयले विपद्मा पिल्सिएका प्रदेशका जनतालाई राहत दिलाए । उनले प्रदेशको समग हितमात्र होइन आफ्नै निर्वाचन क्षेत्रको गौरदह बजारको विकास, कमल गाउँपालिका लगायतका क्षेत्रमा लगेका बजेट उल्लेख्य रहेका छन् । जसले उनको निर्वाचन क्षेत्रमा समेत उत्साह थपिएको छ ।
कार्कीकै पालामा झापा पत्रकार महासंघ भवन निर्माणदेखि जिल्लालाई अनुदान रकम दिएर पत्रकारहरुलाई बलियो बनाउने अभियान सुरु भयो । आज झापाले मुख्यमन्त्रीको रुपमा कार्कीलाई हेरिरहँदा उनको क्षेत्रमा उनले मन्त्री हुँदा लगेका बजेट र काम मात्र होइन् उनको व्यक्तिगत स्वभाव र छविले उनलाई अझ चम्किलो बनाइरहेको छ ।