Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कहाँ हरायो दशैँको रौनक



नेपालीहरुको महान चाड बडा दशैँ सुरु भइसकेको छ । औपचारिक रुपमा शुभकामना आदानप्रदान कार्यक्रमहरु भइरहेका छन् । तर, दशैँको रौनक जसरी हुनुपथ्र्यो र हुन्थ्यो त्यो हुन छाडेको छ । विराटनगरमा मात्रै नौरथा सुरु हुँदा काली मन्दिरमा विहान चारै बजेदेखि भिडभाड हुन्थ्यो । मानिसहरु लाम लागेर दर्शन गर्थे । केटाकेटीहरु विहानै मन्दिर जान उत्साहित हुँदै खुसी हुन्थे । विहानीपख बजारभरी बेलुन बोकेर केटाकेटीहरु हिँडेको देख्दा दशैँ आएको रौनक हुन्थ्यो ।

रोँटे पिङ र अरु खेलहरु धेरै हुन्थे । चिठ्ठा र खसी कप फुटबलहरुले गाउँगाउँमा ठुलो रौनकता थप्थ्यो । तर, आजभोली यी सबै चलनहरु देखिन छाडेका छन् । मानिसहरु दशैँमा तास खेलेर रमाइलो गर्ने गर्थे । तर, हिजोआज यो सबै खुसीयालीका क्षणहरु खोसिँदै गएका छन् । बजारमा आफ्ना छोराछोरीलाई लिएर लुगा किन्न जाने आमाबुबाहरु देखिन छाडेका छन् । आखिर दशैँको यो खुसी किन खोसिदैँ छ ? मानिसहरु किन एक्लिँदै छन् ? के अब हाम्रो समाज संस्कृति र परम्पराबाट विमुख हुन खोजेको हो ? यस्ता विषयमा कहाँ कसरी चिन्ता व्यक्त गर्ने होला ? हुन त राजनीतिक दलको दुरदर्शी र विकासप्रेमी काम नहुँदा युवा पुस्ता ठुलो संख्यामा विदेशतिर जान बाध्य छन् । घरमा भएका बुढाबुढीहरुमा परिवारबिहीनताले उत्साह थपेको छैन् । हामीले पनि हाम्रा नानीहरु पनि चाड पर्वका बारेमा बुझाउन नसक्दा उनीहरु पनि रमाउन छाडेका छन् । आखिर यो कसरी भइरहेको छ ?

चाडपर्वले परिवारको मिलनमात्र होइन मानिसहरुलाई सामूहिकता पनि सिकाउँछ र सद्मार्गमा हिड्ने प्रेरणा पनि दिन्छ । यस अर्थमा चाडपर्वको महत्व धेरै छ । मैले यहाँ उठाउन खोजेको विषय के हो भने हामी बच्चा हुँदा पर्वमा जति रमाउथ्यौँ हाम्रा नानीहरु किन रमाउन सकिरहेका छैनन् ? नयाँ लुगा पाउँदा फुरुङ्ग हुँदै गाउँभरी देखाउने उत्साहपूर्ण दिनहरुबाट हुर्किदैँ आएका हामी अहिलेको परिस्थित हेर्दा चाडपर्व हो कि होइन भन्ने अवस्थामा आइपुगेका छौँ ।

चाडपर्वको रौनकता फर्काउन हाम्रा परमपरागत मान्यताहरुलाई प्रशासनहरुले पनि केही समय खुकुलो बनाउने वातावरण तय गरिदिनुपर्छ । जसले गर्दा चाडपर्वमा सबै रम्न सकुन । फगत शुभकामनाका लागि शुभकामना दिने माध्यममात्रै चाडपर्व बन्नु हुँदैँन ।

त्यसैले पनि यो पर्वको रौनकता फर्काउन तपाई हामी लागौँ । फेरी पनि बडा दशैँले सबैको कल्याण गरुन् । देशमा निर्वाचन आइरहेकाले असल मान्छेहरुलाई चिन्ने र मतदान गर्ने प्रेरणा बडा दशैँले प्रदान गरोस् । हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित समाचार