Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा पर्यटन सूचना केन्द्र स्थापना



विराटनगर : नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । पर्यटन व्यवसायीसहितका सरोकारवालाहरुको सक्रियतामा सूचना केन्द्र स्थापना भएको हो ।

सूचना केन्द्रको मंगलबार महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरेका हुन् ।

प्रदेश १ का प्रमुख तीन नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी दिने, होटल र ट्राभल्स लगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरुकै जानकारी राख्ने उद्धेश्यले सूचना केन्द्र स्थापना गरिएको हो ।

इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा अझै पनि पर्यटन डेस्क स्थापना नभएकाले त्यो काम पनि सूचना केन्द्रमार्फत हुने राउतले बताए । उनले प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिंदै हाल प्रदेशमा रहेका १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए ।

प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको राउतको भनाई छ । पर्यटकहरुलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकोले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्ने राउतले माग राखेका छन् ।

महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत सूचना केन्द्र स्थापना गरिएको जानकारी दिंदै त्यसलाई प्रभावकारी रुपमा संचालन गर्ने उपाध्यक्ष राउतले बताए ।

यस्तै महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताए । उनले पर्यटन क्षेत्रलाई राज्यले ठुलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको भन्दै गुनासो गरे ।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने उनले बताए ।

सूचना केन्द्रमा पर्यटनसम्बन्धि जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ । आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरुसँग समन्वय भइरहेको महासंघले जनाएको छ ।

महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापश्चात प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार