विराटनगर : नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि बन्द सूचीमा राखेको मोरङका नरेन्द्र श्रेष्ठको नाम आएपछि कार्यकर्ताहरु श्रेष्ठ को हुन् ? भनेर खोजी गर्न थालेका छन् ।
मोरङको सुन्दरहरैँचा घर भएका श्रेष्ठ भूमिगत राजनीतिदेखि संगठित हुँदै काठमाडौँ गएर मोरङ मिलन केन्द्रका नाममा पूर्वबाट गएका एमाले कार्यकर्तालाई संगठित गर्दै राजनीतिमा होमिएका हुन् ।
नेकपा एमाले मोरङ काठमाडौँ सम्पर्क मञ्चको संस्थापक, दुई कार्यकाल अध्यक्ष, तत्कालिन कोशी अञ्चल सम्पर्क कमिटी सचिव र अध्यक्ष, एमाले सम्पर्क समन्व्य विभाग सचिव हुँदै श्रेष्ठ १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन् ।
सम्पर्क कमिटीका सहइन्चार्ज श्रेष्ठलाई मोरङ काठमाडौँ सम्पर्क मञ्चले १ नम्बर प्रदेश कमिटीको तर्फबाट समानुपातिकमा नाम सिफारिस गरेको थियो ।
२०१८ सालमा जन्मिएका श्रेष्ठले स्नातक तहसम्मको अध्ययन गरेका छन् । पार्टीभित्र इमान्दार कार्यकर्ताका रुपमा चिनिएका उनी अवसर नपाउने नेताका रुपमा परिचित छन् ।