विराटनगर : नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी फिर्ता गरेका छन् । सोमबार आफूले प्रयोग गर्दै आएको गाडी उनले प्रदेशसभालाई बुझाएका हुन् ।
कोइरालाले को १ झ ६५४ नम्बरको स्कारपियो प्रयोग गर्दै आएका थिए । निर्वाचनको मिति नजिकिएको र आफूलाई पार्टीले उम्मेदवारमा सिफारिस गरेपछि समयमै सरकारी सम्पत्ति बुझाएको कोइरालाले बताए ।
भोलीका दिनमा नैतिकतामा समेत प्रश्न उठ्ने भएकाले समयमै गाडी बुझाएको उनको भनाई छ ।
२०७४ को निर्वाचनमा कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसपटक उनलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सिफारिस गरेको छ । उनीसँगै सो क्षेत्रबाट राजीव ढुंगाना र सिताराम मेहताको पनि नाम सिफारिस भएको छ ।