Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पार्टीको नीति विपरीत उम्मेदवार नबन्ने गुरु बरालको घोषणा



विराटनगर : नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीको कार्यलय बैठकमा स्थायी कमिटी सदस्य गुरु बरालले प्रदेशसभा सदस्यमा सिफारिस भई आएको आफ्नो नाम कटाउन आग्रह गरेका छन् ।

एमाले स्रोतका अनुसार उनले बैठकमा पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय भन्दा बाहिर गएर आफू उम्मेदवार बन्न नचाहेको बताएका छन् ।

बराललाई एमालेले मोरङ क्षेत्र नम्बर ६ को प्रदेश (क) बाट प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको थियो । उनी गत राष्ट्रियसभाको निर्वाचनमा गोलाप्रथाबाट पराजित भएका थिए ।

नेकपा एमालेको विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा भइरहेको बैठकमा प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश कमिटीका पदाधिकारी सहभागी छन् ।

प्रदेश कमिटीको बुधबार बिहानदेखि बसेको बैठकमा उम्मेदवारहरुको नामावली अध्ययन र प्रत्येक्षमा सिफारिस भएका उम्मेदवारहरुको काटँछाट गरी प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम मात्र केन्द्रमा पठाउने तयारी भइरहेको छ ।

समानुपातिकका उम्मेदवारहरुको पनि अध्ययन गरी जिल्लाको परामर्शमा थोरै नाम केन्द्रमा पठाउने तयारी भएको छ । बैठक आज अबेरसम्म चल्ने एक सहभागीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार