विराटनगर : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् ।
६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
दलहरुले सर्वसम्मत गर्न सकेको क्षेत्रमा सर्वसम्मत नाम सिफारिस गरेका छन् । अधिकांश क्षेत्रमा पुरानै नेताको नाम सिफारिस भएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले ५ जनाको नाम सिफारिस गरेको छ । एमालेले पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेसहित घनश्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसले संविधानसभा सदस्य डिगबहादुर लिम्बूसहित चार जनाको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट कांग्रेसले लिम्बूसहित रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरेको छ । माओवादीले भने यस क्षेत्रमा सर्वसम्मत रुपमा प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका घनश्याम खतिवडा विजयी भएका थिए । एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडासँग कांग्रेसका डिगबहादुर लिम्बू पराजित भएका थिए ।
मोरङ २ मा एमालेले संविधानसभा सदस्य ऋषिकेश पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ । पोखरेल एमाले मोरङका जिल्ला अध्यक्षसमेत हुन् । २०७० को निर्वाचनमा कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भए ।
२०७४ मा मोरङ २ बाट विजयी भएका रिजाललाई पुनः यसपटक पनि सिफारिस गरिएको छ । कांग्रेसले रिजालसहित सुजता कोइरालालाई सिफारिस गरेको छ ।
माओवादीले भने गणेश उप्रेतीलाई सर्वसम्मत सिफारिस गरेको छ । २०७० को निर्वाचनमा पराजित भएका उप्रेती २०७४ को निर्वाचनमा भने मोरङ २ (क) बाट प्रदेशसभामा उम्मेदवार थिए । एमाले माओवादीको गठबन्धनबाट उम्मेदवार रहेका उप्रेती कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए ।
मोरङ क्षेत्र नम्बर ३ मा एमाले र कांग्रेस दुवैले सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमालेले भानुभक्त ढकाल र कांग्रेसले सुनिल शर्माको नाम सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा यी दुई प्रतिस्पर्धि थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका ढकाल विजयी भएका थिए ।
क्षेत्र नम्बर ३ बाट माओवादीले सावित्रीकुमारी काफ्ले, खेम सुन्दास र खेम भट्टराईको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ ।
२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट विजयी भएका अमनलाल मोदीलाई माओवादी केन्द्रले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले पनि केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गरेको छ ।
कांग्रेसले यस क्षेत्रबाट ५ जनाको नाम सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा मोदीसँग पराजित भएका महेश आचार्यसहित अमुत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस गरेको छ ।
मोरङ ४ बाट सिफारिस भएका कांग्रेस नेता अमृत अर्यालको नाम मोरङ क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ । सो क्षेत्रबाट अर्यालसँगै हसन अन्सारीको पनि नाम सिफारिस भएको छ ।
२०७४ को निर्वाचनमा अमृत अर्याल यही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । अर्याल नेकपा माओवादीका शिवकरमार मण्डलसँग पराजित भएका थिए । नेकपा माओवादी केन्द्रले यसपटक पनि मण्डलको एकल नाम सिफारिस गरेको छ ।
एमालेले समाजिक अभियन्ता योगेन्द्र मण्डलसहित मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालको निर्वाचन क्षेत्र रहेको मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसले चार जनाको नाम सिफारिस गरेको छ । यस क्षेत्रबाट कोइरालासँगै डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग कोइराला पराजित भएका थिए । एमालेले यसपटक पण्डितसँगै टिकाराम पुरीको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले हेमबहादुर कार्की, नविन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ ।