Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विकास गर्ने एमाले, जस लिने अरु : अध्यक्ष ओली


  • Purbeli Press
  • बिहिबार, भाद्र २ २०७९

file photo

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वमा भएका विकास निर्माणको जस अरुले लिन खोज्नु आश्चर्यजनक रहेको बताएका छन् ।

बिहिबार झापाको कचनकवलमा भएको वृहत पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले हुलाकी राजमार्गको विस्तार र निर्माण, चारआली केचना सडक एमालेकै नेतृत्वमा बनिरहेको बताए । तर केहि दलका नेताहरुले ति विकासका योजना आफुले ल्याएको समेत भन्ने गरेको टिप्पणी गर्दै ओलीले यस्ता योजनाहरु मैले ल्याएँ भन्दा पनि मेरा लागि पनि आएको हो भनेर बुझ्नु पर्न बताए ।

देशै भरि एमालेमा पार्टी प्रवेश गर्ने लहर चलि रहेको उल्लेख गर्दै ओलीले कार्यक्रममा सहभागी भएर पार्टी प्रवेश गर्नेहरु प्रतिनिधीमूलक र सांकेतिक मात्र भएको पनि दाबी गरे । आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले जिते मात्र देशले जित्ने ओलीको भनाई छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेसँग एक्लै चुनाव लड्न हिम्मत नभएकाहरु गठवन्धन गरेर चुनावमा आउने तयारी गरिरहेको बताए । उनले केहि व्यक्ति भेला पार्दैमा एमालेलाई हराउन सक्ने तागत पैदा नहुने बताए ।

पूर्वी नेपालको विकास र समृद्धिका लागि एमालेले कचनकवल देखि कञ्चनजंघा पर्यटकीय सडकको अवधारणा ल्याएको उल्लेख गर्दै ओलीले त्यसलाई पूरा गर्न एमालेको नेतृत्वले मात्र सक्ने बताए ।

कार्यक्रममा राप्रपा, नेपाली काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार