प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गरिन । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पुर्याउने विश्वास लिइएको छ ।
‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने बताए । गलत वा मिथ्या समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई विधेयकले दण्डनीय बनाउने भन्दै उहाँले पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने आदिवासी, जनजाति, महिला र दलितलाई विधेयकले प्रोत्साहन गर्ने दावी गरे ।
बैठकको विशेष सयममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सबै चासो र जनहितका लागि निकै महत्वपूर्ण मानिएको सुनसरीको दुहबी र इनरुवा सडकलाई स्तरोन्नति गर्नुपर्ने माग गरे ।कोइरालाले दिनप्रतिदिन सवारी चाप बढेको र अधिक सवारी चापले बाटो जीर्ण हुँदै गएकाले सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिए ।