Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामाकरणको अडानबाट माओवादी ‘ब्याक’, किरात–कोशी अन्तिम बटम लाइन


  • Purbeli Press
  • शनिबार, साउन ७ २०७९

विराटनगर : प्रदेश १ को नामाकरणको विषयले चर्चा पाइरहेको समयमा नेकपा माओवादी केन्द्र आफ्नो एकल पहिचानको अडानबाट ‘ब्याक’ भएको छ । किरात प्रदेश हुनुपर्ने अडान राख्दै आएको माओवादीले किरात–कोशी नाम हुनुपर्ने प्रस्ताव अघि सारेको हो ।

सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न प्रदेश कमिटिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सबैको अपनत्व हुने किरात–कोशी नामाकरण गर्नुपर्ने बताए ।

संसदीय दलका नेतासमेत रहेका आङ्बोले माओवादीको एजेण्डा एकल पहिचान भएपनि प्रदेशसभाको समिकरण, दलहरुको अडान र वस्तुगत अवस्थाको आधारमा किरात–कोशी नाम लिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका थिए ।

पहिचानका आधारमा नामाकरण हुनुपर्छ भन्ने पक्षमा रहेको माओवादीले किरात प्रदेश भन्दै आएको थियो । तर, ती अडानहरुबाट पछि हट्दै माओवादी बहुपहिचानमा आइपुगेको हो । यद्यपि कोशी किरातको अडान आफ्नो अन्तिम बटम लाइन भएको माओवादीले जनाएको छ ।

यस्तै प्रदेश समितिले गत स्थानीय निर्वाचनमा पार्टी पराजय हुनुको ५ कारण पहिचान गरेको छ । प्रदेशको पूर्ण बैठकले चुनाव हारका ५ कारण औंल्याउँदै प्रदेश र संघको चुनावमा अहिलेको समस्या हल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

सांगठनिक अवस्था मजबुद नहुनु, काँग्रेसको गुटगत झगडाले गठबन्धन प्रभावकारी नहुनु, कतिपय उम्मेद्वार छनौटमा कमजोरी रहनु, कतिपय तहमा अन्तरघात हुनु र उम्मेद्वारी घोषणा तथा गठबन्धनको निर्णय ढिलो हुनुले माओवादीले पराजय बेहोर्नु परेको बैठकले निष्कर्ष निकालेको हो ।

पार्टीभित्रै आन्तरिक एकता बलियो नभएकोले पनि गठबन्धन प्रभावकारी नभएको र सन्तोषजनक नतिजा आउन नसकेको नेताहरुले बताएका छन् ।

माओवादीले आगामी प्रदेश र संघको चुनावको तयारीमा केन्द्रीत हुन कार्यकर्ताहरु निर्देशितसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार