विराटनगर : प्रदेश १ को नामाकरणको विषय पेचिलो बन्दै गर्दा नेकपा माओवादी केन्द्रले नामको विषयमा छलफल चलाएको छ । नेकपा माओवादीको प्रदेश १ को बैठक बस्नु पूर्व इटहरीमा प्रदेश बैठकको तयारी सन्दर्भमा छलफल चलेको छ ।
पार्टीका केन्द्रीय समिति सदस्यहरु, जिल्लाका इन्चार्ज, सहइन्चार्ज साथै संयोजकहरु सहभागी भएको पूर्व तयारी बैठकमा प्रदेश १ को नामको विषयमा छलफलसमेत भएको छ ।
त्यस बैठकमा कोशी-किरात, किरात-सगरमाथा र किरात-लिम्बुवान-कोचिला गरेर तीन नामको विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका नेता अजम्बर राईले सामाजिक सञ्जालमार्फत पूर्व तयारी बैठक बसेको जानकारी दिएका छन् । उनले बैठकमा पार्टीका विभिन्न एजेण्डा र नामका विषयमा छलफल भएको पूर्वेली प्रेसलाई बताए ।
तयारी बैठकपछि प्रदेश १ को बैठक बस्दैछ ।