विराटनगर : प्रहरीले विराटनगरका दुई छुट्टाछुट्टै स्थानबाट दुई किलो युरेनियमसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टा छुट्टै स्थानबाट दुई वटा समूहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार उनीहरुले बिक्रीका लागि युरेनियम ल्याएका हुन् ।
कार्कीका अनुसार साउन १ गते विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चौकमा रहेको ठुलदाइको होटलमा कोठा लिएर बसेका ८ जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ केजी ८७.३ ग्राम युरेनियम बरामद गरिएको हो ।
त्यस्तै साउन ३ गते ९७८.६ ग्राम युरेनियमसहित विराटनगर ३ दुधफारम नजिकैबाट ७ जना पक्राउ परेका छन् ।

साउन १ गते मोरङको धनपालथान गाउँपालिका वडा नं ७ का ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, धनपालथान ४ का ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका वडा नं २ का ४० वर्षीय दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका वडा नं १२ का ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बुको माग्पे गाउँपालिका वडा नं ७ का ३५ वर्षीय गोपाल मगर र खोटाङको हलेसी नगरपालिका वडा नं ९ का ३२ वर्षीय किरन राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै साउन ३ गते गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ का ४५ वर्षीय जिवन गुरुङ्ग, मोहोत्तरीको मङ्हा नगरपालिका वडा नं ६ का ४२ वर्षीय अब्दुल गनी खान, सोही पालिकाको वडा नं १२ का ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका वडा नं ३ का ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुरको बागमती गाउँपालिका वडा नं ५ का ३६ वर्षीय दिपक बहादुर भ्लोन, मोहत्तरीको मनराषिशवा नगरपालिका वडा नं ३ का ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ का २८ वर्षीय श्याम घिमिरे पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए ।