विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारे सजग रहन पनि आग्रहसमेत गरेका छन् ।
उनले प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने बताए । ‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला ।’
उनले उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेश सभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया सुरु हुने कुरालाई दोहो¥याए । उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने बताए ।