विराटनगर : धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित भएकी छन् ।
एमाले संसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो ।
सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजिनामा दिएपछि समानुपातिक तर्फ एउटा सिट खालि भएको थियो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागु हुनेगरि पदबाट राजीनामा दिएकी थिइन् ।
अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन् ।
नेकपा एमालेको प्रदेश १ समिति सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगले आज पत्र दिएको एमाले नेता हिक्मतकुमार कार्कीले जानकारी दिए ।
बस्नेतलाई भोलीको प्रदेश सभामा सपथ ग्रहण गराउने प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।