Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कृष्णको ज्ञान र उपदेश आज पनि सान्दर्भिक: मुख्यमन्त्री कार्की



बिराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सत्य, धर्म र न्यायका प्रणेता भगवान श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा कोशी प्रदेशका साथै देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको सन्देशमा भनेका छन्, “श्रीकृष्णले दिनुभएका उपदेश र शिक्षाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । धर्म, सत्य र कर्तव्य पालनका लागि उहाँले दिएको सन्देशले हाम्रो जीवन र समाजमा मार्गदर्शन गरिरहेको छ र सत्मार्गमा डोर्यायेर समुन्नत तथा सुसंस्कारयुक्त समाज निर्माणका लागि प्रेरणा बनिरहेको छ ।”

प्रदेश सरकार सबै जातजाति, धर्म र संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कोशी प्रदेशको बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक पहिचानले प्रदेशलाई गौरवान्वित बनाएको बताए ।

मुख्यमन्त्री कार्कीले यस्तो पर्वले आपसी हातेमालो, सहकार्य र सहअस्तित्वका साथ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे । “हाम्रा संस्कार, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् । यही साँस्कृतिक जगमा उभिएर हामीले राष्ट्रलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्न सक्छौं,” सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक संरक्षणमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्दै शान्ति, समृद्धि र एकताको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार