Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको १० करोड ४७ लाख बजेट स्वीकृत



विराटनगर । झापाको कलवलगुरीस्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो परिषद् बैठकले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको परिषद् बैठकले उक्त बजेट पारित गरेको हो । प्रदेश सरकारले एकमुष्ट रूपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरी २ करोड ८६ लाख रुपैयाँ बराबरका कार्यक्रमहरू तय गरिएको बैठकले जनाएको छ ।

त्यस्तै, प्रदेश तथा स्थानीय शासन सशक्तीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरका कार्यक्रम पनि बैठकले स्वीकृत गरेको छ। प्रतिष्ठानका अनुसार स्वीकृत बजेट प्रदेश सभाबाट पनि पारित भइसकेको छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन दिनुभयो। कर्मचारीहरूलाई स्मार्ट र सक्षम बनाउने तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । “आम मानिसले चिनेको र बदलिँदो प्रविधिसँगै अपडेट हुँदै जाने प्रतिष्ठान निर्माण गर्नुपर्छ,” उनले भने ।

बैठकमा प्रदेश प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष, विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार