विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भुटानका लागि प्रतिनिधि केन सिमिजुबीच आज विराटनगरमा भेटवार्ता भएको छ ।
मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा प्रदेशको कृषि, जलवायु परिवर्तन र वातावरणीय संरक्षणका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा मुख्यमन्त्री कार्कीले एफएओमार्फत कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका परियोजनाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप प्रभावकारी सहकार्यको अपेक्षा व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले विशेषगरी मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव न्यूनीकरण, कृषि तथा उच्च मूल्यका फलफूलको उत्पादन, बजारीकरण र व्यवस्थापनका क्षेत्रमा एफएओको प्राविधिक र व्यवस्थागत सहयोगको आवश्यकता औंल्याए । साथै, जलवायु परिवर्तन र विपद् जोखिम न्युनिकरणका क्षेत्रमा सहकार्य गरेर ठोस उपलब्धि हासिल गर्न सकिनेमा उनले जोड दिए ।
“कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधतासहित जैविक विविधताको धनी प्रदेश हो । जलवायु र कृषि उत्पादनका क्षेत्रमा यहाँ अझ धेरै सम्भावना छन्,” मुख्यमन्त्री कार्कीले बताए । उनले आगामी आर्थिक वर्षमा विश्व रामसार दिवसको अवसरमा जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारीसमेत दिए ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन सिमिजुले पनि एफएओ प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । उनले एफएओको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरी अझ व्यवस्थित रूपमा सहकार्य अघि बढाउने योजना रहेको जानकारी गराए ।
एफएओले कोशी प्रदेशमा हाल जैविक विविधता संरक्षण, माटो व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण लगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । भेटका क्रममा यी परियोजनाहरूलाई थप विस्तार गर्दै नयाँ क्षेत्र पहिचान गर्न दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ ।