Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीद्वारा कनकाईका २०० भूमिहीनलाई जग्गा धनीपूर्जा वितरण



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ। भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा दुई सय जना लाभग्राहीलाई पुर्जा वितरण गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिहीनले आफ्नो नाममा जग्गा पाउनु खुशीको कुरा भएको बताउँदै सरकार स्थिरता र जनताको समस्या समाधानमा केन्द्रित रहेको स्पष्ट पारे । उनले भने, “यो सरकार ढल्छ ढल्छ भन्नेहरू कराउँदै रहुन्। अर्को एक वर्ष म प्रधानमन्त्री हुनेछु र त्यसपछि सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जिम्मा हस्तान्तरण हुनेछ। चुनावसम्मको यात्रामा ढुक्कसँग अघि बढ्नुस्।”

प्रधानमन्त्रीले जमिनलाई खेर जान नदिई चाक्ला बनाएर व्यावसायिक खेती गर्न आग्रह गर्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा परिवर्तनको अनुभूति जनताले गरेको र अझ ठूलो परिवर्तनका लागि सरकार लागिरहेको बताए ।

कार्यक्रममा आयोगका अध्यक्ष हरि रिजालले देशभरका भूमिहीन, सुकुम्बासीलाई क्रमशः पुर्जा वितरण गरिने जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार