Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीद्वारा रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

बाढीले गरेको क्षति, उद्धार र राहत कार्यबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र पीडितहरूसँग छलफल गरे । उनले बेपत्ता व्यक्तिहरूको अवस्था, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह र बगाइएका मालवाहक कन्टेनरका कारण भएको क्षतिको विवरणबारे चासो व्यक्त गरे ।

सरकारी तथ्यांकअनुसार उक्त बाढीमा हालसम्म २० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा कार्यरत छ जना मजदुर, पाँच जना डिब्बा चालक र छ जना चिनियाँ नागरिक रहेका छन् ।

बाढीले ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र पनि प्रभावित भएका छन् । ल्हेन्दे खोलाको मितेरी पुल बग्दा केरुङसँगको सिधा सडक सम्पर्क समेत पूर्ण रूपमा विच्छेद भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको निरीक्षण टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

सरकारले उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन र बेपत्ता व्यक्तिहरूको खोजी तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार