काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाबाट पारित भएको निजामती कर्मचारी सेवा विधेयकमा केही प्रावधान हेरफेर भएको भन्दै त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन्।
काठमाडौँमा आज लेखक तथा साहित्यकार मधुसूदन पाण्डेयद्वारा लिखित, अनुवादित, सम्पादित तथा सहलिखित शतक पुस्तक को लोकार्पण कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित विधेयक संसद्मा प्रस्तुत भएपछि त्यसमा प्रावधान परिवर्तन हुनु आपराधिक कार्य भएको बताएका हुन्।
उनले भने, “राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित विधेयक संसद्मा प्रस्तुत भएपछि हेरफेर गरिन्छ, यो सरासर आपराधिक काम हो। यसमा को दोषी हो भन्न सक्दिन, तर दोषी जो भए पनि कुनै हालतमा क्षमायोग्य हुँदैन। यस्ता क्रियाकलाप भइरहे देश कुन दिशातिर जान्छ ? ”
राज्य व्यवस्था समितिको प्रारम्भिक विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश लिएका व्यक्तिले दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने स्पष्ट प्रावधान थियो। तर, संसद्मा दफा ८२ (५) (क) मा संशोधन गरी ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने व्यवस्था गरिएको छ। यसले ‘कुलिङ अफ पिरियड’ को अवधारणालाई खण्डित गरेको कोइरालाको आरोप छ।
सो अवसरमा नेता कोइरालाले नेपाली साहित्यकारहरूलाई देशको राजनीतिक, सांस्कृतिक, धार्मिक र सामाजिक अवस्थालाई साहित्यको माध्यमबाट चित्रण गर्न आग्रह गरे। उनले विशेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवाद आजको विश्व परिप्रेक्ष्यमा अझ सान्दर्भिक भएको समेत उल्लेख गरे।
कार्यक्रममा मधुसूदन पाण्डेयद्वारा लिखित १०४ वटा मौलिक, अनूदित र सम्पादित पुस्तकहरूको लोकार्पण गरिएको थियो।