Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शेखर कोइरालाको असन्तुष्टि : कांग्रेसको केन्द्रीय समितिमा फरक शैलीमा नेतृत्वसँग कडा प्रश्न



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आजको केन्द्रीय समितिको बैठकमा फरक शैलीमा प्रस्तुत हुँदै पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि जनाएका छन्।

कोइरालाले वर्तमान सरकार, गठबन्धन, महाधिवेशन, अनुशासन समिति र निर्वाचनसम्बन्धी विषयमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीसँग चित्तबुझ्दो जवाफ मागे। उनले मंसिरमा तय महाधिवेशन हुन सक्ने सम्भावना नदेखिएको भन्दै कारण स्पष्ट गर्न माग गरे।

एमालेलाई सत्ताको नेतृत्व सुम्पिएको विषयमा आपत्ति जनाउँदै कोइरालाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने धारणा दोहोर्याए। उनले संविधान संशोधनको मुद्दा सात बुँदे सहमति अनुसार अगाडि नबढेको प्रश्न पनि उठाए।

अनुशासन समितिको पक्षपातपूर्ण व्यवहारप्रति आक्रोश व्यक्त गर्दै उनले चितवनको घटनामा सभापतिको टिप्पणी र कारबाही प्रक्रियामा गरिएको विभेदको विषयमा जवाफ मागे। कोइरालाले गठबन्धनका कारण निष्ठावान नेता कार्यकर्ताको राजनीति समाप्त पारिएको भन्दै स्वतन्त्र लडेका उम्मेदवारलाई माफी दिनुपर्ने प्रस्ताव समेत राखे।

बारा, तनहुँ, चितवन र सर्लाहीका सन्दर्भमा पनि उनले नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै जवाफ माग गरे। कोइरालाको प्रस्तुतिलाई नेताहरूले यसअघि भन्दा फरक, कडा र स्पष्ट बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार