ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा एक महिला तिम्ल्याहा (तीन जना) शिशु जन्माएकी छिन् ।
गत शुक्रबार मोलुङ गाउँपालिका–६, श्रीचौरकी ३२ वर्षीया हीरा तामाङले शल्यक्रियामार्फत तीन सन्तान जन्माएकी हुन् । उनलार्य मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिकाले उक्त सहायता उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाले यस घटनालाई असाधारण र संवेदनशील प्रसूति घटनाका रूपमा लिँदै तत्काल राहतस्वरूप नगद सहयोग दिने निर्णय गरेको अध्यक्ष उत्तम राईले जानकारी दिए।
“नागरिकप्रतिको दायित्व निर्वाह गर्दै आमा र शिशुको पोषण तथा उपचारका लागि सहायता गरिएको हो,” अध्यक्ष राईले भने । पालिकाले श्रीचौर स्वास्थ्य चौकी र स्वास्थ्य शाखामार्फत आमा र नवजात शिशुहरूको स्वास्थ्य परीक्षण, स्याहार तथा पोषण सुनिश्चित गर्न विशेष निगरानी राख्ने निर्णयसमेत गरेको छ। हाल आमासहित तीनवटै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ।
मोलुङ गाउँपालिकाले गर्भवती, सुत्केरी, दीर्घरोगी, अपाङ्गता भएका, विपन्न तथा वृद्धवृद्धालगायत जटिल अवस्थाका नागरिकलाई नियमित रूपमा सहयोग गर्दै आएको पनि अध्यक्ष राईले जानकारी दिए।