सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। असार ३ देखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावनाबारे सूचित भएपछि यस्तो आग्रह गरिएको हो।
चीनको प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार भोटेकोशी नदीको मुहान क्षेत्रमा अविरल वर्षा हुने सम्भावना रहेको छ, जसले गर्दा नेपालतर्फ पानीको बहाव उच्च हुन सक्ने देखिएको छ। सोही कारण प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई पूर्व तयारी गर्न र सतर्क रहन आग्रह गरेको हो।
जोखिममा पर्न सक्ने क्षेत्रहरूमा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिका रहेका छन्। यी क्षेत्रहरू भोटेकोशी र सुनकोशी नदीको आसपास पर्न आउने भएकाले उच्च जोखिममा रहेको प्रशासनको भनाइ छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले पनि देशका विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, कैलाली लगायत वरपरका जिल्लामा पहिल्यैदेखि भारी वर्षा भइरहेको र अन्य स्थानहरूमा पनि लगातार पानी परिरहेको जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाले जनजीवन र पूर्वाधारमा असर पर्न सक्ने भएकाले सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न अनुरोध गरेको छ।
