झापा । राष्ट्रिय योजना आयोग र निजी क्षेत्रबीच उद्योग, वाणिज्य, भन्सार र निर्यात सम्बन्धी विषयमा गहन अन्तरक्रिया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले नेपाल निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले भने ‘नगदे बालीहरू—जस्तै चिया, अलैँची, जडीबुटी, सुपारी, अदुवालगायत—लाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गर्न जरुरी छ ।’ उपाध्यक्ष भन्सार पूर्वाधार सुधार, प्रक्रियामा सहजता, प्रमाणीकरण, यातायात पूर्वाधार, तथा निजी क्षेत्रसँगको सहकार्य दिगो विकासको मेरुदण्ड रहेको बताए ।
अन्तरक्रियाा कार्यक्रममा महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोख्रेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिको सहकार्यमा निर्यात व्यापार सुदृढ गर्न सकिने विश्वास व्यक्त गर्दै यस्तो अन्तरक्रिया नियमित गर्नुपर्ने बताए।
आयोगकी सदस्य गीता अधिकारीले भोलिदेखि बिर्तामोडमा हुने भूटान, बङ्गलादेश, भारत र नेपालको चारदेशीय विज्ञ समूहको कार्यशालामा कोशी प्रदेशका भन्सार नाकाबाट निर्यात हुँदै आएका वस्तुहरू र एसियन हाइवे जस्ता सम्भावनाहरूको विषयमा छलफल हुने बताइन् ।
निर्यात व्यवसायी महासंघकी उपाध्यक्ष शान्ता बाँस्कोटा कोइरालाले नेपालको जैविक चिया, जडीबुटी तथा अन्य कृषिजन्य उत्पादनहरूमा अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको बताउँदै नीति, पूर्वाधार र ब्राण्डिङमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
अन्तरक्रियामा आयोगका सदस्य गीता अधिकारी, सहसचिव खुमराज कोइराला, मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य केशवमणि पाण्डे, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, दमक उद्योग वाणिज्य संघका गोपाल गुरागाई, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, चिया निर्यातकर्ता शान्ता बाँस्कोटा कोइराला लगायत कोशी प्रदेशका अग्रणी व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी व्यवसायी, उद्योगी, कृषकहरूले भन्सार जाँच प्रक्रियाको सुधार, यातायात सञ्जाल विस्तार, सीमापार व्यापारमा सहजता, र विदेशी बजारमा पहुँच विस्तार सम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।