काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ जाँदै गरेको हेलिकप्टर आज बिहान दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ।
आर्यन कम्पनीको हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ जाँदै गर्दा गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिक दुर्घटना भएको हो। हेलिकप्टरमा चालकसहित पाँचजना सवार थिए। मृतकमध्ये एकजना बालकसमेत रहेका छन्।
प्रारम्भिक जानकारी अनुसार, खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ। दुर्घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको छ र आवश्यक राहत तथा अनुसन्धान कार्य भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
केदारनाथ धार्मिक यात्राका लागि दैनिक सयौं श्रद्धालु हेलिकप्टर तथा अन्य सवारी साधनमार्फत गइरहने गर्दछ। मौसम प्रतिकूल हुँदा यस क्षेत्रमा पहिले पनि यस्तै दुर्घटनाहरू हुने गरेका छन्। घटनाबारे थप विवरण सार्वजनिक हुँदै गएको छ।