Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (असार १ गते)देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतको मुजफ्फरपुर र बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पठाइँदैछ।

गत वर्ष १२ घण्टाका लागि पहिलोपटक निर्यात गरिएको विद्युत् यस वर्ष पाँच महिनासम्म निरन्तर पठाइने छ। पाँच महिनामा १४ करोड ६८ लाख युनिट विद्युत् निर्यात हुने अनुमान गरिएको छ, जसबाट सरकारले १ अर्ब २९ करोड रुपैयाँ आम्दानी गर्नेछ।

बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट तोकिएको छ। ऊर्जा मन्त्री दीपक खड्काले यो व्यापार नेपालको ऊर्जा र अर्थतन्त्रका लागि सकारात्मक उपलब्धि भएको बताएका छन्।

प्राधिकरणले भारतमा पनि २८५ मेगावाट विद्युत् निर्यात गरिरहेको छ। ऊर्जा विकास मार्गचित्रअनुसार, सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार