पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा छ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शनिबार साँझ हिलिहाङ गाउँपालिकातर्फ बेलिब्रिज टेकाउने क्रममा करिब ७० मिटर लामो मोडुलार पुल भाँचिएर खोलामा खसेको हो । पुल निर्माणमा संलग्न कामदारहरू एकसाथ खसेपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर छन् । ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी पनि घाइते भएका छन्।
उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्थानीयका अनुसार लोड सहन नसकेर बेलिब्रिज भाँचिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।