काठमाडौं । विद्यार्थी राजनीतिमा पेशागत क्षेत्रका युवाको आकर्षण बढ्दै गएको देखिएको छ। हालै सम्पन्न एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशनमा चिकित्सक, इन्जिनियर र परिचारिकाहरूको उल्लेख्य उपस्थिति देखिएको हो ।
काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस उत्तीर्ण डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भए । उनले म्याग्दीका प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै ७३२ मत ल्याएर विजयी भए । कडरिया देशका विभिन्न स्थानमा स्वयंसेवक चिकित्सकका रूपमा काम गरिसकेका छन् ।
महाधिवेशनबाट अन्य तीन चिकित्सक पनि केन्द्रीय कमिटीमा चुनिए । डा. पुष्पराज भाम सचिवालय सदस्य, डा। प्रविण भूसाल केन्द्रीय सदस्यमा विजयी भए भने डा। आनन्दकुमार सिंह सचिवको उम्मेदवार भएर पराजित भए ।
इन्जिनियरहरूको उल्लेख्य उपस्थिति यसपटकको महाधिवेशनको विशेषता बन्यो । उपाध्यक्ष विकास श्रेष्ठ, सचिव रचना सापकोटा र अन्य ११ इन्जिनियर सहित कुल १३ इन्जिनियर निर्वाचित भए । सचिवालय सदस्यमा किशोरचन्द्र सुवेदी, रोशनबहादुर साउद, विशाल आचार्य, नविन्द्र चालिसे र नितेश लामिछाने निर्वाचित भए ।
सदस्यमा सुदीन अधिकारी, सचिन श्रेष्ठ, प्रेमबहादुर लामा, आकाश खत्री, अनिश पोखरेल, लोकेन्द्रबहादुर विष्ट निर्वाचित भए ।
अधिवक्तातर्फ गोपाल नेपाल सचिव, समिर रिजाल सचिवालय सदस्यमा निर्वाचित भए। अधिवक्ता कविराज घिमिरे र प्रशिक्षा कोइराला सदस्यमा विजयी भए।
तर, १८ जना इन्जिनियर, एक नर्स र थुप्रै अधिवक्ता पराजित भए । पराजितमध्ये रोशन भट्टराई, नवीन निरौला, कमल यादव, अफ्जल मिया, दीपिका पाण्डेय, शरण पाण्डे, विश्वास लम्सालजस्ता इन्जिनियर तथा नर्स प्रेमिका शाही र अधिवक्ता प्रियंका साउदलगायत छन् ।
विद्यार्थी राजनीतिमा पेशागत पृष्ठभूमिका युवाको सहभागिताले संगठनमा विविधता र विशेषज्ञता थपिएको नेताहरूले बताएका छन् ।