काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। पछिल्ला केही दिनदेखि प्रमुख विपक्षी दलसहितका प्रतिपक्षीहरूको निरन्तर अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेको छ।
‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। यो विवाद समाधानका लागि दलहरूबीच संवाद भए पनि सहमति हुन नसक्दा संसद् अझै अवरुद्ध हुने संकेत देखिएको छ।
यद्यपि, आजको बैठकमा अवरोध नभए उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचि रहेको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूचीमा समावेश छ।