Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा राष्ट्रपति रनिङ शिल्डको प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु



विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता  आजदेखि विराटनगरस्थित शहीद रंगशालामा सुरु भएको छ। प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट झन्डै एक हजार खेलाडीले सहभागिता जनाएका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले राष्ट्रको समग्र विकासका लागि शिक्षा र खेलकुदमा पर्याप्त लगानी आवश्यक रहेको धारणा  राखे । उनले प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले छोटो सूचनाका बाबजुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले आगामी बजेटमा खेलकुद क्षेत्र र खेलाडीलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना दिँदै विजयी खेलाडीलाई उचित सम्मान प्रदान गरिने जानकारी दिए । उनले खेलाडीले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माणमा बोर्ड क्रियाशील रहेको उल्लेख गरे ।

सोलुखुम्बु, सुनसरी र खोटाङ जिल्ला प्रतियोगितामा सहभागी गराउन असफल भएकाले ती जिल्लाका खेलकुद विकास समितिमाथि आवश्यक कारबाही हुने चेतावनी पनि उनले दिउ ।

छनोट प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेल समावेश छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू आगामी जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार