Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लिङ्देनको प्रचण्डलाई आग्रह : ‘भ्रमजालबाट मुक्त भइ सुध्रिनुस्’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विगतको सोचबाट मुक्त भई सुधारिन आग्रह गरेका छन्। राजधानीमा आयोजित विरोध कार्यक्रमको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले अब माओवादी युद्धकालको समय नरहेको बताए।

‘वाईसीएलका भाइहरू अझै पनि जनयुद्धकालको भ्रममा हुनुहुन्छ,’ लिङ्देनले भने, ‘अब त्यो समय छैन। जनताले तपाईंहरूको भ्रमजाल चिरेका छन्। दबाएर राख्ने सोच त्याग्नुस्।’

उनले गणतन्त्रको नाममा लुटतन्त्र मौलाएको आरोप लगाउँदै आफूहरू भ्रष्टाचारविरुद्ध लडिरहेको स्पष्ट पारे। ‘हामी कुनै व्यक्तिको विरोधमा होइनौं,’ उनले भने, ‘भ्रष्ट र भ्रष्टतन्त्रविरुद्ध जीवनभर लड्छौं, भ्रष्टलाई खोरमा नहाली विश्राम लिँदैनौं।’

राजावादी कार्यकर्ता र वाईसीएलबीचको झडपबारे बोल्दै लिङ्देनले द्वन्द्वलाई होइन, लोकतान्त्रिक प्रतिवादलाई प्राथमिकता दिनुपर्ने बताए। साथै, देशमा व्यवस्था परिवर्तन भए पनि नेतृत्वको प्रवृत्ति नबदलिए जनताले चुप लागेर नबस्ने चेतावनी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार