Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हडतालको बीचमा मयुर यातायातको सञ्चालन, जडिबुटीमा तोडफोड र प्रदर्शन



काठमाडौं । राइड सेयरिङको विरोधमा जारी देशव्यापी यातायात हडतालको बीचमा मयुर यातायातले गाडी चलाएको भन्दै काठमाडौंको जडिबुटी क्षेत्रमा तनाव सिर्जना भएको छ। अरनिको बसपार्क अगाडि आन्दोलनरत यातायात व्यवसायीहरूले मयुर यातायातको गाडी रोकेर विरोध प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार प्रदर्शनका क्रममा ना १ ज ६९७३ नम्बरको सुमो गाडीमा तोडफोड भएको छ। प्रदर्शनकारीले गाडीको झ्यालको सिसा फुटाएर क्षति पुर्‍याएका छन्।

व्यवसायीहरू सडकमा उत्रिएपछि केही समय जडिबुटी क्षेत्र तनावग्रस्त बनेको थियो। हाल स्थिति सामान्यतर्फ फर्किएको प्रहरीले जनाएको छ।

राइड सेयरिङ सेवाको विरोधमा गण्डकी प्रदेशबाट सुरु भएको हडताल हाल देशभर फैलिएको छ। अधिकांश यातायात सेवा बन्द भएको अवस्थामा पनि मयुर यातायातले नियमित सेवा जारी राख्दै आएको छ, जसप्रति अन्य व्यवसायी आक्रोशित बनेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार