सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ। गङ्गेटिक प्रजातिका डल्फिनको वार्षिक गणना सन् २०२२ देखि नियमित रूपमा हुँदै आएको हो। यस वर्षको गणना चार दिनसम्म चल्नेछ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार डल्फिन चेतनशील र दुर्लभ जलचर हुन्, जसले सफा र गहिरो पानी रोज्छन्। गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय र हिमालयन नेचर संस्थाको सहकार्य छ। सन् २०१२ मा ११, २०१७ मा १७ डल्फिन देखिएको थियो।
२०२२ मा १७ र पछिल्ला दुई वर्ष १९–१९ डल्फिन गणना भएका थिए। कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको बताए ।