काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन्।
शनिबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथन’को उद्घाटनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले एकजना कर्मचारीमाथि प्रश्न उठेको आधारमा प्रतिपक्षी दलले गृहमन्त्रीमाथि नै राजीनामाको माग गर्नु तर्कसंगत नभएको बताए।
प्रधानमन्त्री ओलीले भने, “गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो, बयान लिएको पनि सुनेको छैन। त्यसैको भरमा मन्त्रीको राजीनामा माग्नु आधारहीन हो।”
उनले प्रतिपक्षी दललाई बोल्ने र माग राख्ने अधिकारको सम्मान गरे पनि विरोधका लागि तर्क र प्रमाण आवश्यक पर्ने बताए। “अहिलेको विरोध यस्तो शैलीमा गरिएको छ, मानौं ३५ किलो सुन नै ओसारिएको हो,” उनले व्यंग्य गर्दै थपे, “त्यस्तो अवस्था त होइन।”
गतवर्ष तत्कालीन गृहमन्त्रीविरुद्ध सीआईबीले छानबिन गरिरहेको अवस्थामा राजीनामाको माग गरिएको स्मरण गराउँदै उनले अहिले त्यस्तो कुनै अनुसन्धान सुरु नभएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले कांग्रेसभित्रैका केही नेताबाट उठाइएको राजीनामाको मागबारे टिप्पणी गर्दै आन्तरिक पार्टी विवादहरू सार्वजनिक रूपमा ल्याएर अन्यलाई असर पार्ने गरी प्रस्तुत नहुन आग्रह गरे। “घरको झगडा घरमै सुल्झाउनुपर्छ, आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी गर्नु हुँदैन,” उनले भने।