काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरू ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सार्वजनिक यातायात क्षेत्र संकटमा परेको दाबी गर्दै तत्काल माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ। व्यवसायीहरूका अनुसार सार्वजनिक यातायात क्षेत्रमा करिब १३ खर्ब रुपैयाँ लगानी रहेको छ भने १५ लाख मानिस प्रत्यक्ष रूपमा रोजगारीमा रहेका छन्। सरकारको बेवास्ताका कारण यस्तो ठूलो क्षेत्र विस्थापनको खतरामा परेको उनीहरूको तर्क छ।
संघर्ष समितिले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आज सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, भोलि जेठ १४ गते मुख्यमन्त्रीलाई मागपत्र बुझाउने तथा
जेठ १८ गते देशभर कालो झन्डा बोकेर विरोध प्रदर्शन गर्ने रहेको छ । यस्तै माग पुरा नभए जेठ १९ गतेदेखि सवारी साधन ग्यारेजमै थन्क्याएर अनिश्चितकालीन देशव्यापी बन्द गर्ने उल्लेख छ ।
व्यवसायीहरूले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै सरकारले बेवास्ता गरेमा थप कडा कदम चालिने चेतावनी दिएका छन्।