Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीको निर्देशन :“पार्टीसँगको सम्बन्ध नछोडी विकास र सुशासनमा लाग्नुस्”



ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई पार्टीसँगको सम्बन्ध मजबुत बनाउँदै विकास र सुशासनको कार्यमा समर्पित हुन निर्देशन दिएका छन्।

एमाले बागमती प्रदेशस्तरीय निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका वडाध्यक्षहरूलाई छिटो, सहज सेवा दिने कार्यमार्फत पार्टीप्रतिको विश्वास अझ बलियो बनाउनुपर्ने बताए।

‘तपाईंहरू पार्टीबाट निर्वाचित भएर गएका हौं। निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो गरेर पार्टीसँगको सम्बन्ध नछोड्नुस्। मैले जितेँ, अब अरु मतलब छैन भन्ने सोच अनुचित हो। अर्को निर्वाचन पनि आउँछ,’ प्रधानमन्त्री ओलीले भने।

उनले पार्टीको नीति र निर्देशनअनुसार काम गरेर जनताको सेवामा निरन्तर क्रियाशील रहनु वडाध्यक्षहरूको दायित्व रहेको बताए। ओलीले पार्टीको सिद्धान्त वास्तविक जनतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा रहेको भन्दै एमालेलाई नायक पार्टीको रूपमा परिभाषित गरे।

प्रधानमन्त्री ओलीले पार्टी एकता पछि दुई तिहाइको नजिक पुगेको एमालेलाई विभाजन गरेर पार्टीको राष्ट्रनिर्माण अभियान रोक्ने प्रयास भएको टिप्पणी गरे। तथाकथित वामपन्थीहरूबाट एमालेलाई समाप्त पार्ने षड्यन्त्र भए पनि ती प्रयासहरू चकनाचुर पार्दै पार्टी अघि बढेको उनले स्मरण गराए।

राजतन्त्र फर्कने कुनै आधार नरहेको बताउँदै उनले केही प्रतिगामी तत्वहरू सक्रिय भइरहँदा एमाले कार्यकर्ताको मनोबल गिर्न नहुने बताए। ‘लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रमलाई चिर्न जरुरी छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले जेठ १५ गते प्रतिगामी शक्तिहरूद्वारा गरिन लागेको प्रदर्शनको प्रतिवादमा पार्टी कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन पनि दिए। साथै, भ्रष्टाचार र सहकारीका पीडितका नाममा भ्रम सिर्जना गरी सरकार र पार्टीमाथि दोषारोपण गर्ने प्रयासप्रति सचेत रहन आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार