जनकपुरधाम । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्ने तयारी गरेको बताइएको छ।
गृहमन्त्री रमेश लेखकले आजै उक्त विषयमा प्रष्ट पार्नेगरी मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताएका छन् । आज बिहान धनुषा पुगेका गृहमन्त्री लेखकले पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा यो जानकारी दिएका हुन्।
‘ट्वीटरमा लेख्ने के के काम भइरहेका छन् । म दुई–तीन दिन चुपो लागेर बसेको थिएँ, किन भने यो कहाँबाट भइरहेको छ भनेर बुझ्दै थिएँ,’ गृहमन्त्री लेखकले बताए। ‘धेरै कुरा मैले थाहा पाइसकेको छु । आज म यहाँ कार्यक्रम सकेर गएपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्नेछ । दुई–चार दिनमा म आफैं केही कुरा बोल्नेछु । त्यसकारण अहिले धेरै बोल्दिनँ,’ उनले बताए।
गृहमन्त्री लेखकले यो विषयमा आफूले पार्टीपंक्तिको टाउको निहुराउने काम नगरेको दाबी गर्दै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए।
‘चिन्ता लिनुपर्ने, आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभर राजनीति गरेर कुनै पार्टीको मन सानो हुने वा टाउको निहुराउने काम गर्दिनँ,’ उनले बताए। ‘जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ,’ गृहमन्त्री लेखकले बताए।
यसैबीच, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरूमाथि पनि अनुसन्धान सुरु गरेको बताइएको छ।
अख्तियारले छानबिन गरिरहँदा शुक्रबार गृह मन्त्रालयले कम्तीमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको बताइएको छ।
विमानस्थल अध्यागमनबाट हटाइएका कर्मचारीमध्ये अधिकांश नायब सुब्बा रहेको र अनुसन्धानकै क्रममा उनीहरूलाई हटाइएकाले थप शंका बढाएको कतिपय अधिकारीहरूले बताएका छन्।