Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा दुई दिने सीप उत्सव हुने, प्रदेशस्तरीय प्रतिस्पर्धाबाट १८ विद्यार्थी छनोट



विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा यही जेठ १० र ११ गते दुई दिने सीप उत्सव २०८२ आयोजना हुने भएको छ। उद्योग संगठन मोरङको सभाहलमा हुने उक्त उत्सवमा एक हजारभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ।

उद्योग संगठन मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो। सम्मेलनमा संगठनका अध्यक्ष राकेश सुराना र उपाध्यक्ष विपिन काबरा सहभागी थिए।

अध्यक्ष सुरानाले सीपबिना न काम पाउन सजिलो हुन्छ, न त काम दिन सम्भव, भन्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सीप उत्सव आयोजना गर्न लागिएको बताए। “नेपाली विद्यार्थी विदेश पलायन हुने क्रम बढ्दो छ,” उनले भने, “उनीहरूलाई नेपालमै अवसर दिने प्रयास स्वरूप यो उत्सव आयोजना हुन लागेको हो।”

सीप उत्सवमा झापा, मोरङ र सुनसरीका सात वटा विद्यालयका सूचना प्रविधि, अटोमोबाइल र होटेल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरूबीच गरिएको प्रतिस्पर्धाबाट १८ जना उत्कृष्ट विद्यार्थी छनोट गरिएको छ। प्रत्येक विद्यालयबाट प्रथम र द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई कोशी प्रदेश स्किल आइकन को उपाधि प्रदान गरिनेछ।

उद्योग संगठन मोरङले सामाजिक विकास मन्त्रालयको समन्वय र इन्स्योर सीप परियोजनाको सहयोगमा उत्सव आयोजना गर्न लागेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार